FAQs Complain Problems

निवर्तमान नगर प्रमुख श्री लोकमान बुढाथोकीद्वारा नगरबासीहरुको नाममा सम्बोधन

नगरवासीहरुको नाममा सम्बोधन

आदरणीय नगरवासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु,

नेपालको संविधान २०७२ ले अङ्गिकार गरेको गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व सहितको संघीयता कार्यान्वयनको यस ऐतिहासिक कालखण्डमा मिति २०७४ साल बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट म र मेरो नेतृत्वको सम्पूर्ण टिमलाई विश्वास गरि अमुल्य मतदान गरेर बिजयी बनाउनु भएकोमा सर्वप्रथम सम्पुर्ण मतदाताहरुमा हार्दिक आभार सहित धन्यबाद व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको लागी भएका १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान ज्ञात अज्ञात महान सहिदहरु प्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरुलाई सम्मान सहित स्मरण गर्न चाहन्छु । साथै सहिद तथा बेपत्ता परिवारजन प्रति सम्मान व्यक्त गर्दछु । घाइते, अपाङ्ग योद्धाहरू प्रति स्वास्थ्य लाभको कामना सहित अभिवादन प्रकट गर्दछु । न्याय, समानता, स्वाधीनता र समृद्धिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा अमूल्य योगदान पु¥याउनु हुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू प्रति हार्दिक सम्मान प्रकट गर्दछु ।

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर पवित्र नियतका साथ नीति, विधि, योजना र कार्यक्रम बनाउन सकियो भने सिमित स्रोत र साधनको पनि अधिकतम सदुपयोगबाट सकारात्मक परिणाम निकाल्न सकिन्छ भन्ने मेरो निष्कर्ष रहेको छ । यो पाँच वर्षको अवधिमा हामिले कति सही गर्न सक्यौं र कति गलत गर्यौ त्यसको मुल्यांकन गर्ने सम्पूर्ण अधिकार यहाँहरुमा सुरक्षित छ । चुनावी प्रतिबद्धता अनुसारका काम कति पूरा भए, कति भएनन्, यतिबेला हामीले गरेका कामहरुको चिरफार सहित सर्वत्र समिक्षा होस् र आगामी दिनहरुमा पनि यो पद्धति, संस्कारको रूपमा विकास होस् भन्ने अपेक्षाका साथ संस्थापक नगर प्रमुखको हैसियतले नवनिर्वाचित नगर सभा तथा नगर कार्यपालिकालाई स्वागत गरेर आफु बिदाइ हुँदै गर्दा गौरवान्वित महशुस गरेको छु ।

मेरो पाँच वर्ष अवधिको सेवा सुविधा र त्यसको खर्च विवरणहरु, कोरोना महामारीको समयमा भएको आय, व्यय सम्बन्धि सम्पुर्ण विवरणहरु आम जनसमुदाय सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरि ‘हाम्रो बागचौर’ नगर स्मारिका प्रकाशनको तयारी समेत गरिएको छ । उक्त स्मारिका नवनिर्वाचित जनप्रतिनिधिहरुज्युहरुको लागि आगामी निति, कार्यक्रम तथा योजना निर्माण गर्न समेत मार्गदर्शक हुने अपेक्षा राखेको छु । बागचौर नगरपालिकाको विकास र सम्वृद्धिको लागि मेरो पाँच वर्षको अनुभव तथा ज्ञान् सिपको आवश्यकता परेको खण्डमा हरबखत म यहाँहरुकै साथमा रहने बाचा गर्दछु ।

#आरम्भ .....................................................................

ऐतिहासिक जनयुद्ध र वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको जगमा स्थापित गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व सहितको नेपालको संविधान २०७२ को सफल कार्यान्वयनको क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भयो । उक्त निर्वाचनमा नगरवासी आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको असीम माया र विश्वासरूपी अमूल्य बहुमतका साथ मेरो नेतृत्वमा बागचौर नगरपालिकाले ऐतिहासिक प्रथम जननिर्वाचित नगर सभा सहित स्थानीय सरकार प्राप्त गर्यो ।

ऐतिहासिक जनयुद्ध र जन आन्दोलनको जगमा स्थापित गणतन्त्र र संघीयता सहितको नेपालको संविधान २०७२ को सफल कार्यान्वयनको सबैभन्दा चुनौतीपूर्ण कुरा संघीयता कार्यान्वयन नै थियो । सिमित स्रोत साधन, पर्याप्त अनुभवको अभाव र उच्च जनआकांक्षा नै हाम्रा लागि मुख्य चुनौती थिए । जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारजन, घाइते, अपांग, उत्पीडित समुदायहरुको घाउमा मलम पट्टी लगाउदै विकास र समृद्धिको जग बसाउनु, जनयुद्धको राप र चापबाट पुनर्जीवन पाएर आएका हामी जनप्रतिनिधिहरूका लागि यी चुनौती अलि बढी नै भारी थिए ।

निर्वाचित भएसँगै हाम्रो मनमस्तिष्कमा वर्षौदेखि बुनिंदै आएका सपना, योजना र भिजनका असंख्य रुपरेखाहरु अँकुराउन थालिसकेका थिए । स्थानीय तहको एक थान भौगोलिक नक्सा, एक थान स्थानीय सरकार संचालन ऐन र उपलब्ध सिमित स्रोत–साधनमा टेकेर तिनै सपना र योजनाहरूको गोरेटोलाई राजमार्ग बनाउने चुनौती हामीमाझ थियो । तर, नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको अगाध माया अनि विश्वासले दिलाएको ‘सानै किन नहोस्, निष्कपट भावनाका साथ केही राम्रो गर्नुपर्छ है’ भन्ने एक दृढ संकल्प अवश्य थियो । यही दृढ संकल्प र नगरबासी प्रियजनको विकासप्रेमी हृदयका कारण हामी सबैका लागि नौलो रहेता पनि संघीयताको सफल कार्यान्वयनमा हामी सधैं विश्वस्त रह्यौं ।

यो पाँच वर्ष मेरो लागि निकै अद्भुत रह्यो । मलाई सधैं के लागिरह्यो भने, ‘राजनीति पेशा होइन, सेवा हो । र, सेवा नै धर्म हो ।’ कसैलाई सेवा गर्नुमा जति आनन्द यस संसारमा सायदै अरू केहीमा होला । सभ्यताको सर्वोच्च विन्दु हो– सेवा । यही भावनालाई हृदयमा राखेर नै मैले बागचौर नगरवासीको माया र विश्वासरुपी नेतृत्व सम्हालेको थिए । जसअनुसार आफ्नो सेवा–सुविधा बापत प्राप्त हुने सबै रकम सामाजिक सेवामा खर्च गर्ने मेरो पहिलो अठोट रह्यो । यस सम्बन्धी सम्पूर्ण विवरणहरु नगरबासीहरुको जानकारीको लागि हाल प्रकाशनको अन्तिम तयारीमा रहेको ‘हाम्रो बागचौर’ नामक नगर स्मारिका मार्फत समेत केहि दिनमा सार्वजनिक गरिने व्यहोरा जानकारी गराउँदछु ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालको समीक्षा गर्ने बेला भएको छ । अवश्य पनि, कुनै पनि क्षेत्रमा राम्रा र नराम्रा, सही आचरण भएका र गलत आचरण भएका दुबैखाले मान्छेहरू हुन्छन् नै । सायद कुनै पनि यस्तो क्षेत्र नहोला, जहाँ सतप्रतिशत राम्रा या नराम्रा मात्रै हुन् । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने, लामो कालखण्ड बितिसक्दा पनि सोचे जसरी राजनीतिज्ञहरूले काम गर्न नसक्दा राजनीति र नेता प्रति जनताको वितृष्णा जाग्नु स्वाभाविक नै हो । तर, सधैं “सबै उस्तै त हुन” मात्र भन्ने तर सही रुपले विश्लेषण नगर्दा सबभन्दा फाइदा ‘नराम्रो गर्ने’ लाई नै हुन्छ । राम्रो गरे पनि र नराम्रो गरे पनि बिना कुनै विश्लेषण जनताबाट एउटै प्रतिक्रिया पाउने भएपछि ‘नराम्रो गर्ने’ लाई झन् आँट एवम् हौसला त आउँछ नै, साथसाथै केही सानो प्रयास कै माध्यमबाट भएपनि देश बनाउन खोज्नेहरूलाई पक्कै पनि निराशा जगाउन सक्छ ।

त्यसैले आउनुहोस्, जनप्रतिनिधिले गरेका काम तथ्य र तथ्यांकको आधारमा चासो र चिन्तनका साथ अध्ययन गरि चिरफारका साथ समीक्षा गरौँ । ५ वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं । जनप्रतिनिधिले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिनु आफ्नो कर्तव्य हो भने जनताले जानकारी पाउनु अधिकार हो ।

#उपलब्धी ........................................................................

बागचौर नगरपालिका संघीय राजधानीदेखि भौगोलिक हिसाबले दूरदराजको क्षेत्र भएकाले विकासका पूर्वाधार सडक, खानेपानी, विद्युत्, सिंचाइ लगायतका संरचना निर्माण गर्न पक्कै पनि चुनौतीपूर्ण थियो । भौगोलिक अवस्था असहज भए पनि स्थानीय सरकार बनेसँगै सडक पूर्वाधार निर्माणमा यहाँ उल्लेख्य काम भएका छन् । खानेपानीदेखि सिंचाइको सुविधा पर्याप्त विस्तार गरिएको छ । उज्यालो बागचौर कार्यक्रमअन्तर्गत १२ वटै वडालाई उज्यालो बनाउने लक्ष्यसाथ विद्युत लाइन विस्तारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको छ । विगतको ५० वर्ष सम्म हुन नसकेका काम गएको पाँच वर्षमा सम्पन्न भएको देख्दा जुन खुसी नगरवासी प्रियजनहरूमा देख्छु, मैले आफ्नो जिन्दगी नै धन्य भएको महसुस गरेको छु ।

हाम्रो कार्यकालको मूख्य चुनौतीको रुपमा आयो– विश्वव्यापी कोरोना महामारी । सारा विश्वलाई नै आतंकित बनाइरहँदा, दुरदराजको बागचौरलाई कोभिडबाट अछुतो राख्न पक्कै गाह्रो थियो । यसलाई नियन्त्रण गर्न २०७६ चैतमा संघीय सरकारले लकडाउन लागू गर्यो । कोरोना नियन्त्रण, उद्धार कार्य र जनतालाई राहत वितरण गर्न बागचौर नगरपालिकाले आफ्नो पहिलो प्राथमिकता बनाएर अघि सरेको थियो । नगरपालिकाले द्रुत गतिमा कोराना नियन्त्रणका लागि विभिन्न कार्य अगाडि बढायो । जस्तैः विभिन्न दाताबाट आर्थिक संकलनलाई एकद्वार प्रणालीमा व्यवस्थित गरी वृहत् राहत कोष खडा गरियो भने कोरोना संक्रमण रोकथामका लागि १२ वटै वडाका विभिन्न स्थानमा क्वारेन्टीन निर्माण भए । नगरबाहिर रहेका नगरवासीको तथ्यांक संकलन गरी नगरभित्र ल्याउन पहल गरियो । कोरोना कहरमा सामान्य जीवन चलाउन मुस्किल परिरहेका विपन्न घरपरिवारको पहिचान गरी राहत वितरणका काम तीब्र पारियो । पारदर्शीतालाई व्यवहारमै उतार्न कोरोना नियन्त्रणमा प्राप्त रकम तथा सम्पूर्ण खर्च विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनुका साथै नगर स्मारिकामा पनि सम्पूर्ण विवरणहरु सार्वजनिक गरिने छ । देशका विभिन्न ठाउँमा कोरोना नियन्त्रणको नाममा व्यापक अनियमितता भइरहेको जनगुणासो आइरहेको सन्दर्भमा यसरी एक–एक विवरण सार्वजनिक गर्ने सम्भवतः देशकै पहिलो पालिका बन्न पाउँदा हामीलाई निकै खुसी लागेको छ ।

कोरोनाको पहिलो लहरबाट बल्ल तल्ल तंग्रिदै गर्दा फेरि कोरोनाको दोस्रो लहरले नेपालसहित विश्व नै आक्रान्त पार्न थाल्यो । देशका अन्य भू–भागजस्तै बागचौर नगरपालिकामा पनि कोरोना भाइरसको दोस्रो लहरले कठिन अवस्था सिर्जना गर्यो । देशभरि अक्सिजन अभावमा कैयौंको मृत्यु भइरहँदा बागचौर नगरपालिकामा पनि अक्सिजन अभाव नै नगरवासीको मृत्युको प्रमुख कारण बन्न सक्ने खतरा देखिन थालिसकेको थियो । तर, कोरोना महामारीको तीव्र फैलावटसँगै संघीय र प्रदेश सरकारले नै अक्सिजन व्यवस्था मिलाउन नसकिरहेको त्यो विकराल अवस्थामा एउटा दूरदराजको स्थानीय तहले झन् ठूलो चुनौती सामना गर्नु कुनै नौलो विषय पक्कै थिएन । मैले आफ्नो व्यक्तिगत रकममै भए पनि अक्सिजन जोहो गर्ने प्रतिबद्धता गरेसँगै नगरभरि उक्त अभियान तीव्र रूपमा अगाडि बढ्यो । केही दिनमै नगरपालिकाले स्वास्थ्यकर्मी भर्तीका लागि विज्ञापन खुलायो । अन्ततः स्वास्थ्यकर्मीको नियुक्ति र द्रुत गतिमा पर्याप्त मात्रामा अक्सिजन ल्याउने काम भएपछि सुरुमा असम्भव जस्तै देखिएको अक्सिजन सहितको आइसोलेसन केन्द्र, निःशुल्क आवास सुविधा सहित एम्बुलेन्स सेवा, चेक–जाँच र औषधी उपचारको व्यवस्था गरेर कोरोनाका कारण मृत्युको मुखमा पुग्दै गरेका कैयौं नगरवासी आमाबुवा, दाजुभाइ अनि दिदीबहिनीलाई मीठो मुस्कान सहितको नयाँ जीवन दिलाउन सक्षम भएकोमा नगरपालिका परिवार खुसीले गद्गद् भएको थियो । विवशता र बाध्यताले लाचार भएर मृत्युसँग आत्मसमर्पण गरेका सयौं बुढ्यौली आँखा र तन्नेरी ओठमा एकपटक फेरि नयाँ आशा र सपनामयी जिन्दगीको रङ सजाउन पाउनु नगरपालिकाले आफ्नो सौभाग्य ठानेको छ । म आफूलाई समेत कोरोना संक्रमणले च्यापेको अवस्थामा पनि यसरी नगरवासीको सेवामा खटिन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु ।

यसैगरी, बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र स्थापना गरियो । यो उपचार केन्द्रबाट नगरवासी लगायत आसपासका पालिका तथा जिल्लावासीले सरल र सहज रूपमा आँखा तथा कानसम्बन्धी रोगको उपचार सेवा पाउनेछन् ।

नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पोस्टमार्टम भवन निर्माण सहित अन्य भौतिक तथा प्राविधिक व्यवस्थापनको काम गरिएको छ । एक वडा एक स्वास्थ्य केन्द्रको निति अनुरुप वडा नं. ३, ५, ६, ९ र ११ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ भने साविकका गाविस अन्तर्गतका स्वास्थ्य चौकीहरु पीपलनेटा स्वास्थ्य चौकी, कोटबारा स्वास्थ्य चौकी र बाँफुखोला स्वास्थ्यचौकीको पक्की भवन निर्माण तथा स्तरोन्नति गरिएको छ । आर्थिक वर्ष ०७४÷७५ सम्म नगरपालिकामा स्वास्थ्य भवनको संख्या ६ रहेकोमा पछिल्लो पाँच वर्षमा १० वटा थपिएर १६ पुगेको छ । नयाँ भवन थप गरिँदै जाँदा नागरिकले थप स्वास्थ्य सुविधा पाएका छन् भने सेवा झन् सुलभ हुँदै गएको छ ।

त्यसैगरी, अहिलेसम्म चारवटा वडाका आफ्नै कार्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् भने एक निर्माणाधीन अवस्थामा छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/७९ मा लगातार दुईपटक नेपालका ७५३ स्थानीय तहमध्येमा सबैभन्दा धेरै ससर्त अनुदान प्राप्त गर्ने स्थानीय तहका रूपमा बागचौर नगरपालिकाले आफूलाई पहिलो स्थानमा उभ्याउन सफल भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण रोजगारी गुमाएर विश्वका विभिन्न देशबाट स्वदेश फर्किएका बेरोजगार युवालाई रोजगार कार्यक्रममार्फत सार्वजनिक विकास निर्माणका काममा संलग्न गराई उनीहरूको दैनिक जीवनयापनमा समेत सहयोग पुगेको छ ।

लक्षित वर्ग कार्यक्रमअन्तर्गत सीप विकास, उद्यमशीलता तथा आयआर्जनका लागि सिलाइ कटाइ, मुढा बुनाइ, (माला, स्वेटर बुनाइ) होजेरी तालिम, पञ्चेबाजा तालिम, होटल व्यवसाय तालिमलगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ । जसबाट सयौं नगरवासीले सीप सिकेर स्वरोजगार उन्मुख भएका छन् ।

शैक्षिक गुणस्तर सुधार सहित रोजगारीको अवसर समेत सिर्जना गर्नेगरी विगत पाँच वर्षको अवधिमा विभिन्न सीप विकास तालिम समेत सञ्चालन गरिएको छ । प्रविधि र शिक्षालाई जोड्दै गुणस्तरीय शिक्षाको प्रत्याभूतिका लागि शिक्षकलाई समेत विभिन्न चरणमा कम्प्युटर तथा अन्य प्राविधिक तालिम पनि संचालन गरिएको छ । लेखापाल र कम्प्युटर शिक्षकका लागि आईसीटी तालिम सम्पन्न गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तहमा टीपीडी तालिम संचालन गरिएको थियो । यसका साथै, नगरपालिकाले बालविकास सहजकर्ता क्षमता विकास तालिम, विद्यालय कर्मचारी क्षमता विकास तालिम, प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम, माध्यमिक तहमा नेपाली र अंग्रेजी विषयगत तालिमका लागि पनि बजेट विनियोजन गरिएको छ ।

स्थानिय सरकार बनेपछिका पाँच वर्षमा शैक्षिक पूर्वाधार निर्माण तथा पुनःनिर्माणका लागि पनि ठूलो बजेट खर्च गरिएको छ । संघीय र प्रदेश सरकार सँगको सहकार्य तथा समन्वयमा विभिन्न विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ६ कोठे र दुई कोठे पक्की भवनहरु निर्माण सम्पन्न भएका छन् । विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, खानेपानी व्यवस्थापन, आईसीटी ल्याब व्यवस्थापन, फर्निचर, सौर्य ऊर्जा प्रणाली (सोलार) जडान तथा इन्टरनेट जडान गरिएको छ । शिक्षाको सुधारका लागि प्रविधिको सहायता लिने उद्देश्य अन्तर्गत नगरपालिकाले विद्यालयमा इन्टरनेट जडान र कम्प्युटर व्यवस्थापन तर्फ विशेष ध्यान दिइएको छ । विद्यालय तथ्यांक प्रणाली तथा कक्षा ८ को आधारभूत तह उत्तिर्ण परिक्षाको नतिजा अनलाइन प्रणालीमा व्यवस्थापन गरिएको छ ।

एक वडा एक माध्यमिक विद्यालयको निति अनुरुप वडा नं. ५ र ६ मा आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयको रुपमा तह अपग्रेड गरि आवश्यक भौतिक संरचना निर्माण तथा शैक्षिक व्यवस्थापन गरिएको छ । नगरपालिकाबाट शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयलाई सहायता अनुदान पनि प्रदान गरिएको छ । विद्यालयमा शिक्षक व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा ९० लाख ५० हजार, आर्थिक वर्ष ०७७/७८ मा ९० लाख ५० हजार र आर्थिक वर्ष ०७८÷७९ मा १ करोड ७८ लाख ५० हजार गरी जम्मा ३ करोड ५९ लाख ५० हजार सहायता अनुदान दिइएको छ । त्यसैगरी, कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन ल्याइएको छ । साथै, आधारभूत तहमा शिक्षक दरबन्दी मिलानको काम सम्पन्न भएको छ ।

प्राविधिक शिक्षातर्फ पनि उत्तिकै महत्व दिँदै नगरपालिकाले श्री जनकल्याण नमुना मावि थारमारेमा कृषि बाली विज्ञान र श्री बालकन्या मावि कोटबारामा तिन वर्षे डिप्लोमा तह वनविज्ञान कार्यक्रम सञ्चालन भएको छ । श्री सरस्वती माध्यमिक विद्यालय शिवरथमा तिन वर्षे डिप्लोमा तह सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनको लागि प्रक्रिया अगाडि बढाइएको छ ।

विद्यालयमा विद्यार्थीहरूलाई नियमित उपस्थितिका लागि उत्प्रेरित गर्न दिवा खाजा व्यवस्थापनको काम सुचारु गरिएको छ । त्यस्तै, महिनावारीको समयमा छात्राहरू विद्यालय उपस्थित नहुने अवस्थामा कमी ल्याउन निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सुरुवात भएको छ । जसका कारण महिनावारीको समयमा विद्यालय नजाने अवस्थामा कमी आई छात्रालाई नियमित शिक्षा ग्रहण गर्न थप सहज भएको छ ।

प्रथम मेयर कप, वडाध्यक्ष कप, मावि स्तरीय अतिरिक्त क्रियाकलाप, आवि स्तरीय अतिरिक्त क्रियाकलाप, प्रथम राष्ट्रपति रनिङ सिल्ड र प्रथम राष्ट्रिय कराते प्रतियोगिताहरु सम्पन्न गरिएको छ । त्यसो त खेलकुदलाई मनोरञ्जनको पक्षबाट मात्रै व्याख्या गरेको पाइन्छ । तर, खेलकुद मनोरञ्जन मात्र नभई, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहनुका साथै गाउँबस्तीका अन्तरनिहित खेल प्रतिभाहरुको पहिचान गरि प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत सहभागिताको लागि अवसरहरु सिर्जना गर्ने महत्वपूर्ण माध्यम हो ।

बागचौर नगरपालिकाले नगर क्षेत्रभित्र यातायातदेखि अन्य भौतिक प्रगतिमा पनि फड्को मारेको छ । संघीयता अघिसम्म भएका कतिपय पूर्वाधार दोब्बर भएका छन् भने केही ठूला पूर्वाधारको संख्या पनि बढेको छ । सडकसँग जनताको पहुँच र आर्थिक अवस्थामा पनि सुधार भएको छ । गाउँमा उत्पादित वस्तु बजारसम्म ल्याएर बिक्री गर्ने बाटो नगरवासीलाई खुलेको छ ।

यस नगरपालिकाले आफ्नो गौरवको आयोजनाको रुपमा सहिद चक्रपथ (रिङरोड) अवधारणा पनि अघिसारेको थियो । सडकको पहुँचबाट टाढा रहेका दुर दराजका दुर्गम गाउँबस्तीहरु र वडाहरुलाई आपसमा सडक संजालमा जोड्ने मुख्य उद्देश्य रहेको छ । आर्थिक वर्ष ०७५/७६ को सुरुमा विकसित यस अवधारणाले पाँचवर्षीय अवधिमै मूर्त रूप पायो ।

त्यसैगरी, यस नगरपालिकामा पाँच वर्षको अवधिमा झोलुंगेपुलको संख्या पनि दोब्बरले बढेको छ । आर्थिक वर्ष ०७४/७५ सम्म पाँच वटा झोलुंगेपुल भएकोमा आर्थिक वर्ष ०७८/७९ सम्म झोलुंगेपुलको संख्या १० पुगेको छ । पाँच वर्षको अवधिमा विभिन्न स्थानमा गरेर २३ वटा सल्याब पुलहरु निर्माण सम्पन्न भएका छन्, जुन पाँच वर्ष अगाडि नगन्य अवस्थामा थियो ।

खानेपानीको समस्या भएको क्षेत्र पहिचान गरी १२ वटै वडाका दर्जनौ स्थानमा खानेपानी ट्यांकी निर्माण, पाइपलाइन जडान र लिफ्ट खानेपानी योजनाहरू सम्पन्न भएका छन् । यसबाट वर्षौंदखि खानेपानी समस्याले ग्रसित दर्जनौं स्थानीय टोल बस्तीहरुमा सहज सुविधा पुगेको छ । दर्जनौं स्थानमा सिंचाई पोखरी, कुलो तथा नहरहरु निर्माण सम्पन्न भएका छन् । जसबाट कृषिजन्य वस्तुको उत्पादनमा अपेक्षित वृद्धि भएको छ ।

शारदा नदीमा बालुवा गिट्टी उत्खनन् तथा निकासी कार्यले गर्दा नदीको पर्यावरणीय स्वरुपमा गम्भीर असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै नदीजन्य वस्तुको उत्खनन् तथा निकासी कार्य, डोजर मेसिनको जथाभावी प्रयोग पूर्ण रुपमा बन्द गरिएको छ । नदीको पर्यावरणलाई जीवन्त राख्न माछाका भुरा छोड्ने कार्य गरिएको छ । साथै, नदीमा करेन्ट तथा बिषादी वस्तुको प्रयोग गरेर माछा मार्न प्रतिबन्द लगाइएको छ । हेर्दा सामान्य जस्तो देखिए पनि पर्यावरणीय सन्तुलनको दृष्टिकोणमा यसले दिर्घकालिन महत्व राख्ने अपेक्षा राखेका छौं । पानीको मुहान संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम राख्न १२ वटै वडाका विभिन्न ठाउँमा अभियानकै रुपमा रिचार्ज पोखरी निर्माण तथा वृक्षारोपण कार्यहरु सम्पन्न भएका छन् ।

पाँच वर्ष अगाडि वडा नं. ३, ४, ५, ६, ११ र १२ मा विद्युत लाइनले छोएको अवस्था समेत थिएन भने अन्य वडाका केही ठाउँबाहेक विद्युत पुगेको थिएन । उज्यालो बागचौर अभियान अन्तर्गत १२ वटै वडामा पहिलो चरणको विद्युत लाइन विस्तारको काम सम्पन्न भएको छ भने साबिकका ५४ वटै वडामा विद्युत विस्तारका लागि बजेट विनियोजन भएर कार्यान्वयनको चरणमा गएको छ ।

यहाँका बहुसंख्यक जनता कृषि पेसामा निर्भर छन् । बागचौर नगरपालिकाले परम्परागत कृषि पेसालाई आधुनिकीकरण गर्दै व्यावसायीकरण गर्ने नीतिअनुसार काम गरेको छ । व्यवसायिक कृषि तथा पशुपालन प्रवद्र्धनको लागि किसानलाई अनुदान कार्यक्रम, पशु बीमा, कृषि औजार वितरण, व्यवसायिक रूपमा कृषि पेसामा संलग्न किसानहरुलाई ज्ञान सीप समेत प्रदान गरिएको छ ।

नेपालमै पहिलोपटक सुत्केरी भैंसीलाई स्याहार भत्ता दिने कार्यक्रम बागचौर नगरपालिकाबाट सुरुवात भएको छ । व्यवसायिक रूपमा भैंसीपालन व्यवसायलाई केही हदसम्म लागत सहायता पुगोस् र त्यसबाट दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि गरी आयआर्जन तथा किसानको जीवनस्तरमा समेत सुधार होस् भन्ने लक्ष्यका साथ यो कार्यक्रमले निरन्तरता पाएको छ । पछिल्लो केही वर्षमै यो कार्यक्रमले भैंसीपालन र दुग्ध उत्पादनमा उल्लेख्य सफलता प्राप्त भएको छ ।

पाँच वर्षको अवधिमा दर्जनौ सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका लागि संरचना बनाउने तथा पुर्ननिर्माण गर्ने काम सम्पन्न गरिएको छ । नगरपालिकाको वडा नं. २ मा अग्लाटाकुरा भ्युटावर निर्माण सम्पन्न भएको छ । भविष्यमा यो बागचौर नगरपालिकाको ल्यान्डमार्कको रुपमा स्थापित हुने मेरो विश्वास रहेको छ ।

त्यसैगरी, नगरपालिकाबाट प्राकृतिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका साथै मन्दिरहरुको पुर्ननिर्माण तथा मर्मत–सम्भारलाई पनि उत्तिकै महत्वसाथ हेरिएको छ । पाँच वर्षको अवधिमा नगरपालिकाले विजयधुरी पदमार्ग निर्माण, शिवगुफा मोख्ला मन्दिर पुर्ननिर्माण, मख्लामधुरी पदमार्ग निर्माण, अग्लाटाकुरा पदमार्ग निर्माण, हिमचौर पिनालेखी मन्दिर निर्माण, तिखिधुरी मन्दिर तथा पदमार्ग निर्माण, शिव मन्दिर सानागाँडाकोट र बराहाटाकुरा धार्मिक स्थल घेराबार तथा पक्की वाल निर्माण, भगवती मन्दिर कोटबारा, कोटमौला कालिका मन्दिर अक्षयकोष स्थापना लगायतका विभिन्न काम गरिएको छ ।

पाँच वर्षको अवधिमा नगरभित्र सहिद पार्क बागचौर, पिपल चौतारा पार्क थारमारे, तीनपाने पिकनिक स्थल, ऐतिहासिक रानीपोखरी पुनर्निर्माण, प्लाटुन चौर सहिद स्मारक निर्माण लगायतका काम पनि सम्पन्न भएका छन् । त्यस्तै, मौलिक कला संरक्षण साथै आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित लोपोन्मुख पञ्चेबाजा लगायतका तालिम सम्पन्न गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधिअन्तर्गत बागचौर नगरपालिकाले स्मार्ट पालिका प्रविधि सुरु गरिसकेको छ । बागचौर नगरपालिका स्मार्ट पालिकाको अवधारणा सुरुवात गर्ने सल्यान जिल्लाकै पहिलो पालिका हो । स्मार्ट पालिका मार्फत् सहज रूपमा नगरपालिकासँग सम्बन्धित सुचना र जानकारीहरु प्राप्त गर्न सकिनेछ । नगरपालिकाले बनाएको वेबसाइट तथा मोबाइल एपमार्फत हरेक व्यक्तिले जनप्रतिनिधि, नगरपालिकाका सूचना तथा महत्वपूर्ण जानकारी सहज ढंगले प्राप्त गर्न सक्ने अवस्थामा पुगिसकेको छ । बागचौर नगरवासीलाई घरैबाट सेवा दिने उद्देश्यसाथ डिजिटल नगर प्रोफाइल निर्माणको काम सम्पन्न भएको छ ।

व्यक्तिगत घटना दर्ता किताब डिजिटलाइजेसन मार्फत नष्ट हुन लागेका घटना दर्ता किताबलाई डिजिटलाइजेसन गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको केन्द्रीय प्रणालीमा १ हजार ५ सय ९१ पाना र २१ हजार ७ सय ८० जनाको विवरण प्रविष्ट गर्न बागचौर नगरपालिका सफल भएको छ । सरकारबाट पाउनुपर्ने सेवा र सुविधाबाट कोही वञ्चित नहून् भन्ने उद्देश्यसाथ नगरपालिकाले लाभ पाउनुपर्ने व्यक्तिको पहिचान गरी सामाजिक सुरक्षाको सेवा प्रवाह गर्दै आएको छ । बागचौर नगरपालिकाले पछिल्ला पाँच वर्षमा महिला सशक्तीकरण र उनीहरूको अवस्था सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँमा धेरै बुबा, आमाहरूको साथी भनेकै रेडियो हुन्छ । एक्लोपन अलिकति भएपनि कम गराउन रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको देखिन्छ । मेरो स्वर्गीय बुबा पनि सधैँ रेडियोसँगै झुम्मि रहनुहुन्थ्यो । वृद्ध बा–आमाहरूलाई साथ दिन बागचौर नगरपालिकाले ७२ वर्ष माथिका सबैलाई रेडियो वितरण गरेको छ । सामाजिक सञ्जालमा रमाइरहेका हामी छोरा–नातिले पनि यसको महŒव बुझ्ने छौँ भन्ने मेरो विश्वास रहेको छ । मेयरसँग उज्यालो कार्यक्रम अन्तर्गत ६८ वटै विद्यालयका गरिब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सोलार बत्ती वितरण गरिएको छ । यस कार्यले विद्यार्थीहरुको पढाईमा अगाडि बढ्न थप उत्प्रेरणा र सहयोग मिल्ने अपेक्षा गरिएको छ । मेयरसँग हिल ट्यांकी वितरण कार्यक्रम अन्तर्गत सहिद तथा बेपत्ता परिवार र सम्पुर्ण अपांगलाई हिल ट्यांकी वितरण गरिएको छ । यस कार्यक्रमबाट सुख्खा समयमा हुने पानीको समस्यालाई न्यूनिकरण गर्दै कम्तीमा सरसफाई र करेसाबारीमा सिंचाइको लागि समेत थोरै मात्रामा भएपनि पानीको सुविधा पुगोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।

नगर भित्रका सम्पुर्ण सुनौला हजार दिनका आमाहरु लागि पौष्टिक आहार वितरण गर्ने काम गरिएको छ । जसले गर्दा आमा र शिशुको पोषण स्वास्थ्यमा सहयोग पुगोस र कोही पनि आमा र शिशु आर्थिक कारणले कुपोषणको सिकार हुन नपरोस भन्ने उद्देश्यले यो कार्यक्रम अगाडि सारिएको छ ।

नगरपालिका अन्तर्गतका सहिद तथा बेपत्ता परिवारलाई विशेष प्राथमिकतामा राखि योग्यता, सिप अनुसार रोजगारीका अवसरहरु प्रदान गरिएको छ । सहिद तथा बेपत्ता परिवारका सदस्यहरुको लागि देशका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ । सहिद तथा बेपत्ता परिवारका सदस्यहरुको सम्मानका साथै फाइवर सिरक, हिल ट्याङ्की वितरण कार्यक्रमहरु सम्पन्न भएका छन् । चालु आ.व. मा आय आर्जन कार्यक्रम अन्तर्गत उन्नत जातका बाख्रा वितरण कार्यक्रमका लागि बजेट विनियोजन भई कार्यान्वयणको प्रक्रियामा रहेको छ ।

काम गर्ने इच्छा भयो भने पत्थरमा पनि फूल फूलाउन सकिन्छ भन्ने सोच आफैले प्रयोग सिद्ध गर्ने प्रयास गरेको छु । उजाड सुख्खा पाखोमा मेरो व्यक्तिगत र नगरपालिकाको प्रयासबाट थारमारे पिपलचौतारा आज सुन्दर, आकर्षक र व्यवस्थित पार्कमा परिणत भएको छ । बिहान बेलुकाको आफ्नो फुर्सदको समय सदुपयोग गर्दै अन्यत्रबाट मलिलो माटो, मल र सिँचाइको व्यवस्थापन गरेर यो सुन्दर वगैंचा तयार गरिएको हो ।

#सेवासुविधा र सहयोग रकम ......................................

बागचौर नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै गर्दा र निर्वाचित भइसकेपछि पनि मैले आफूले पाउने सेवा, सुविधा (तलब/भत्ता) बापत प्राप्त हुने सम्पूर्ण रकम व्यक्तिगत रूपमा नलिएर सामाजिक कार्यमा खर्च गर्नेछु भनी सार्वजनिक रूपमा घोषणा गरेको थिए ।

यो ५ वर्ष अवधिको मेरो कार्यकाल भरिमा नियमानुसार कार्यालयबाट प्राप्त भएको सेवा, सुविधाका साथै अन्य विभिन्न संघ, संस्था लगायतका बैठक भत्ता समेत जोड्दा कुल रकम २३ लाख ६४ हजार २ सय ६५ रुपैयाँ जम्मा भएको छ । जसमा ५ वर्षको सेवा, सुविधा (तलब/भत्ता) बापत २२ लाख २६ हजार २ सय ७५ रुपैयाँ रहेको छ भने कार्यकाल भरिमा १ चोटि मात्रै लिइएको टिएडिए ३९ हजार ५ सय रहेको छ । यति मात्रै नभएर नगरपालिका बाहिरबाट अन्य विभिन्न संघ, संस्थाका बैठक तथा कार्यक्रमबाट प्राप्त भएको भत्ता ४२ हजार ४ सय पनि सामाजिक कार्यमा नै खर्च गर्ने उद्देश्यले सोही रकममा समावेश गरेको छु ।

आफैबाट रकम उठाएर सुरु गरिएका कोभिड १९ रोकथाम तथा नियन्त्रण कोष, कोभिड १९ आइसोलेसन केन्द्र र प्राथमिक आँखा तथा कान उपचार केन्द्र साथै अन्य सामाजिक कार्यहरूमा आर्थिक सहयोग गरिएको विवरण पनि यहाँ उल्लेख गरिएको छ । पाँच वर्षको कार्यकालमा हालसम्म १५ लाख २७ हजार ८ सय ६८ रकम विभिन्न सामाजिक कार्यमा उपलब्ध गराइसकेको छु ।

जसमध्ये, कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि (पहिलो चरणको कोभिड १९ को महामारीमा) रु.४ लाख ५० हजार रुपैयाँ रहेको छ । दोस्रो चरणको कोभिड १९ को महामारी चरम उत्कर्षमा पुगेका बेला अक्सिजन सहितको कोरोनाको उपचारको अभावले ज्यान गुमाइरहेको परिदृश्यमा आफैले व्यक्तिगत रकममै अक्सिजनको व्यवस्थापन गरेर बागचौरमा कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालन गरिएको थियो । जसको लागि २० थान अक्सिजन सिलिन्डर, १७ सय २८ पिस साबुन, फेस सिल्ड ५० पिस, ल्ढछ मास्क ३ सय पिस, सर्जिकल मास्क ४१ हजार २ सय ५० पिस गरी जम्मा ८ लाख २६ हजार रकम बराबरको सहयोग उपलब्ध गराएको थिएँ ।

बागचौर नगरपालिका २ खरिबोटमा स्थापित प्राथमिक आँखा तथा कान उपचार केन्द्रलाई तत्काल भौतिक तथा प्राविधिक व्यवस्थापनको लागि १ लाख रुपैयाँ नगद सहयोग दिएर उक्त केन्द्रलाई पर्न सक्ने आर्थिक समस्या समाधान गर्न सहयोग गरेको छु ।

प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा बिरामी र कुरुवालाई समस्या भएको महसुस गरी उहाँहरूलाई बस्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षालय निर्माण गरिएको छ । प्रतीक्षालय निर्माणमा रु.७१ हजार ३ सय ६८ रुपैयाँ लगानी लागेको छ । जसमध्ये म र मेरो परिवारलाई द्वन्द्व पीडितको नाममा जिल्ला प्रशासन कार्यालय, सल्यानबाट प्राप्त भएको रकम २५ हजार र नगर प्रमुखको सेवा सुविधा वापत प्रप्त ४६ हजार ३ सय ६८ रुपैयाँ रहेको छ । जनयुद्धको क्रममा २ पटक तत्कालीन राज्य सत्ताबाट खरिबोट बजारमा रहेको पसलमा ठुलो क्षति पुर्याइएको थियो भने झ्याम ढुङ्गेपानीमा रहेको मेरो घरमा आगजनी गरी नष्ट गरिएको थियो ।

डाँगी जातिको उद्गम स्थल अग्ला टाकुरामा नवनिर्मित मूर्ति निर्माणको लागि सहयोग रकम ५० हजार रुपैयाँ उपलब्ध गराएको छु भने थारमारे बजारमा शौचालयको लागि २१ हजार ५ सय मूल्य बराबरको पाइप र २ हजार लिटरको हिल ट्यांकी उपलब्ध गराएको छु ।

नगर प्रमुखको सेवा सुविधा बापतको रकम र विभिन्न संघ संस्थाको बैठक भत्ता जोड्दा आउने कुल जम्मा रकम रु.२३ लाख ६४ हजार २ सय ६५ रुपैयाँ मध्ये हालसम्म आर्थिक सहयोग स्वरूप गरिएको रकम रु.१५ लाख २७ हजार ८ सय ६८ घटाउँदा बाँकी ८ लाख ३६ हजार ३ सय ९७ बचत रहेको छ ।

बचत रकम मध्ये रु.५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बागचौर नगर कार्यपालिका अन्तर्गतको स्थानीय शिक्षा समितिको मातहतमा रहने गरी छात्रवृत्ति अक्षयकोष स्थापना गरिनेछ । जसबाट बागचौर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा क्भ्भ् मा सबैभन्दा उत्कृष्ट न्एब् अंक ल्याउने सहिद, बेपत्ता तथा द्वन्द्व पीडितका सन्ततिहरू मध्ये एक जना छात्रा र एक जना छात्रलाई र अन्य छात्र छात्रा हरु मध्येबाट एक जना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज रकमबाट तोकिएको कार्यविधि बमोजिम सम्मान सहित छात्रवृत्ति रकम प्रदान गरिनेछ ।

बाँकी रकम २ लाख ८० हजार ८ सय ४१ रुपैयाँ नेपाल पत्रकार महासंघ सल्यान शाखा अन्तर्गत रहने गरी एउटा अक्षयकोष स्थापना गरिनेछ र अक्षयकोषको रकमबाट आउने व्याज रकमबाट प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई तोकिएको कार्यविधि बमोजिम सम्मान सहित पुरस्कार रकम उपलब्ध गराइनेछ ।

#जाँदाजाँदै .....................................................................

केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि देशमा धेरै मान्छेहरूले अवसर पाउन सकिरहेका हुँदैनन् । तर, म आफूलाई भाग्यमानी ठान्छु कि, मलाई आफू जन्मे–हुर्केको जननीको सेवा गर्ने सुनौलो मौका यहाँहरूले प्रदान गर्नुभयो । यो अगाध माया, विश्वास र सहयोगका लागि नगरवासी सम्पूर्ण जनमनहरूमा मेरो हार्दिक आभार ।

पक्कै पनि, हरेक मान्छेका सीमितता हुन्छन् । चाहँदाचाहँदै पनि कहिलेकाँही सोचेअनुरुप गर्न सकिदैन होला । जसका कारण सम्पूर्ण नगरवासीको आशा र अपेक्षा पूरा गर्न म समर्थ रहें या रहिनँ, त्यो केलाउने जिम्मा त अब यहाँहरूमा नै रह्यो । तर, मैले आफू र नगरपालिका परिवारको तर्फबाट निष्कपट भावनाका साथ सुशासन र दीगो विकासको कार्यान्वयन गर्नमा कुनै कसर बाँकी राखेको छैन । यहाँहरूको सूचनाको हकको सम्मान गर्दै प्रकाशनको अन्तिम तयारीमा रहेको नगर स्मारिकामा पाँच वर्षे कार्यकालमा सम्पन्न बजेट तथा कार्य प्रगतीको विस्तृत विवरणहरु सार्वजनिक गरिने छ ।

२००७ सालमा प्रजातन्त्र आएदेखि २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदासम्मको ७१ वर्षमा भएको विकास हेरौं । अनि, २०७४ साल देखि २०७८ सालसम्म ५ वर्षमा भएको विकास, निकास हेरौँ । नतिजा तपाईहरूको अगाडि नै छ । तर, यसो भन्दै गर्दा, अझै पनि नगरवासीमा विकासको भोक मेटिएको छैन । हाम्रो गाउँघरमा नपुगेका यो–यो छन् भन्ने हामी सबैसँग अझै पनि धेरै कुराहरू छन् । वास्तबमा यो भोक र यो तदारुकता आवश्यक पनि छ । विकासको असीम भोक नभएर, विकास पक्कै हुँदैन । ५ वर्षको अवधिमा भएको कामलाई हेर्ने हो भने मेरो नियतमा खोट लाउने ठाउँ भेट्नुहुने छैन भन्ने मेरो विश्वास रहेको छ । यो विकासको गोरेटो बाटोलाई राजमार्ग बनाउने यात्राको सुरुवात भएको छ । विकासको चरणवद्ध यात्राको निरन्तरता आवश्यक छ । कायापलट परिवर्तनको शिलान्यास भइसकेको छ ।

राजनीति सेवा हो कि पेशा हो भन्ने सवाल मैले लामो समयदेखि पार्टीका बैठक देखि सार्वजनिक ठाउँमा उठाउँदै आएको छु । यदि राजनीतिलाई सेवाको रुपमा लिने हो भने एउटा निश्चित अवधि तोकिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधि एक पदमा बढीमा २ कार्यकालसम्म मात्रै काम गर्न पाउने व्यवस्था जस्तै सांसद देखि प्रधानमन्त्रीको पनि निश्चित अवधि तोकिनुपर्छ । साथै, वडा सदस्य देखि प्रधानमन्त्रीको उमेरहद पनि तोकिनुपर्छ । यदि राजनीतिलाई स्वच्छ बनाउने हो र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने हो भने यी कार्यहरु गर्नै पर्ने मेरो बुझाई रहेको छ । नमरुन्जेल राजनीति गरिरहने र राजनीतिलाई पेशाकै रुपमा लिने हाम्रो देशमा कुसंस्कारकै रुपमा विकास भइरहेको छ । नयाँ पुस्तालाई राजनीतिमा आउने र नयाँ–नयाँ योजनाहरु लागू गर्न वातावरण तयार गरिदिने हो भने देशले विकासमा फड्को मार्न सक्ने सम्भावना मैले देखिरहेको छु ।

राजनीति सेवा हो र यो निश्चित अवधिका लागि मात्र गरिनुपर्छ भन्ने मान्यता पार्टी र देशमा तत्कालै लागू गर्न नसके तापनि, व्यक्तिगत रुपमा मैले भने यसको अवलम्बनको सुरुवात गर्ने निर्णय गरेको छु । अबदेखि सत्ताको कुनै पनि जिम्मेवारी नलिने घोषणा गर्दछु । नयाँ पुस्तालाई अवसर र जिम्मेवारी दिन हामीले यति त्याग गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । अहिलेसम्मको राजनीतिक र सामाजिक जीवन र नगर प्रमुखको रुपमा ५ वर्ष कार्यकालमा जनताबाट पाएको न्यानो माया र साथको लागि म हृदय देखि आभारी छु । यो पाँच वर्षको अवधिमा सहयोग एवम् सहकार्य गर्नुहुने जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सम्पुर्ण महानुभावहरु प्रती हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

अन्तमा, मेरो कार्यकाल सफलतापुर्बक सम्पन्न गर्न साथ र सहयोग पुर्‍याउनु हुने नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरू, नगर कार्यपालिकाको कार्यालयसँग सम्बन्धित राष्ट्रसेवक कर्मचारीहरु, शिक्षक, कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका नेतागण, पत्रकार, नगरबासी आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरु सबैमा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सहिद तथा बेपत्ता परिवार, घाइते योद्धाहरु, कार्यकर्ता र आम जनतासँग मेरो जीवन रहदासम्म म तपाईंहरुसँग जोडिरहने बाचा गर्दछु ।

धन्यवाद ! नमस्कार !!

मिति :२०७९ साल जेठ ९ गते

लोकमान बुढाथोकी

संस्थापक नगर प्रमुख

(छिट्टै बागचौर नगरपालिकाले ५ वर्षमा गरेका सम्पूर्ण कार्यप्रगति विवरणहरु सहितको "हाम्रो बागचौर-नगर स्मारिका" सार्वजनिक गर्दैछ। त्यसैको कभर पेज यहाँ राखिएको छ । सरकारले गरेका एक-एक कामको तथ्यांक उपलब्ध गराउनु जनप्रतिनिधिको कर्तव्य हो भने तथ्य र तथ्यांकका आधारमा समीक्षा गर्न पाउनु जनताको अधिकार हो । हामीले पारदर्शितालाई व्यवहार मै उतार्ने प्रयास गरेका छौँ । )

शाखागत कर्मचारीहरु