समाचार
नेपाल साइकल यात्री ओम प्रकाश बानिया सल्यान बागचौरमा |
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी गत बैशाख १९ गते देखी साईकल यात्रा बाट नेपाल भ्रमणमा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ५ का ओम प्रकाश बानियाँ लाई बुधबार सल्यानको बागचौर नगरपालिकामा स्वागत गरिएको छ ।
सात बर्ष बिदेशमा श्रम गरेर नेपाल फर्कियका साईकल यात्री बानियाँले ६ महिना भित्र नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्ने बताउनु भएको छ । आगामी असोज १७ गते आफ्नो भ्रमण सकेर घर फर्कने र त्यस पछि बिश्वशान्ती तथा नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी बिश्व साइकल यात्रामा निस्कने बताउनु भएको छ । नेपालका पहिलो बिश्व साइकल यात्री पुस्कर शाह बाट आफु प्रभावित भयको बताउने साइकल यात्री बानियाँले आफु संघियता पछिको पहिलो नेपाल तथा बिस्व साईकल यात्री बन्ने दाबी गर्नु भएको छ ।
बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले साइकल यात्री बानियाँलाई फुलमालाले स्वागत गर्दै एउटा सामान्य युवाको यो महान सोचलाई देख्दा आफु समेत प्रभावित भएको बताउनु भएको थियो ।महान यात्रालाई अगाडी बढाउदै गर्दा विभिन्न जिल्लाहरूमा पुग्दा सल्यान जिल्लाको पर्यटकीय क्षेत्र कुपिण्डे तालको प्रचार गर्दिनुहुन समेत अनुरोध गर्दै नगर भित्रको सम्पुर्ण संभावना बारे बताउनु भएको थियो ।साईकल यात्रीका स्मरणीय अनुभव सुन्दै नगर प्रमुख बुढाथोकीले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्वागत कार्यक्रममा उप-प्रमुख कल्पना पुन,निमिक्त प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार मल्ल लगाएतको उपस्थिति रहेको थियो भने बागचौर नगरपालिकाले सहयोगको लागी आर्थिक रकम पनि हस्तान्तरण गरेको थियो ।