FAQs Complain Problems

हाम्रो बागचौर प्रथम नगर स्मारिका विमोचन तथा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

हाम्रो बागचौर प्रथम नगर स्मारिका विमोचन तथा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।।।

बागचौर नगरपालिकाको प्रथम जननिर्वाचित स्थानीय सरकारको पाँच वर्षिय प्रगति विवरण सहितको हाम्रो बागचौर प्रथम नगर स्मारिका नामक पुस्तक विमोचन तथा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । बागचौर नगरपालिकाका नगर प्रमुख श्री जनकराज गौतमको अध्यक्षता एवं संस्थापक नगर प्रमुख श्री लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता र संस्थापक नगर उपप्रमुख श्री कल्पना पुनको विशिष्ट आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगर उप प्रमुख श्री सुम्निमा डि. सी., प्रमुख प्रशासकीय अधिकृत श्री रामबहादुर हमाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान अध्यक्ष श्री नवीन पौडेल, उपाध्यक्ष सरिता चलाउने लगायत बागचौर नगरपालिका वडा नं. २, ३, ५ ११ र १२ वडाअध्यक्षहरु, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका शाखा प्रमुखहरू, अन्य कर्मचारीहरु र स्थानीय संचारकर्मीहरुको विशेष उपस्तिथि रहेको उक्त कार्यक्रमबाट नगरपालिकाको बिगतको पाँच वर्षीय प्रगति विवरण समेटिएको नगर स्मारिका पुस्तक विमोचन संगै भिडियो डकुमेन्ट्री समेत लन्च गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं बागचौर नगरपालिकाका संस्थापक नगर प्रमुख श्री लोकमान बुढाथोकीले आफ्नो पाँच वर्षीय कार्यकालमा सेवा सुविधा बापत प्राप्त गरेको रकमबाट बागचौर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेर SEE परीक्षामा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरु मध्ये सहिद तथा बेपत्ता परिवार, द्वन्द्व पीडित परिवारका एक एक जना छात्रछात्रा र अन्य छात्रछात्राहरू मध्येबाट एक एक जना छात्र छात्रालाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्ने गरि अक्षयकोष स्थापनाको लागि रु. ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको मातहतमा रहने गरि वार्षिक रूपमा एकजना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने गरि स्थापना गरिने अक्षयकोषको लागि रु. २ लाख ८० हजार ४१ रुपैयाँको बैंक चेक हस्तान्तरण तथा द्विपक्षीय सम्झौता पत्रमा संयुक्त हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको छ ।

पत्रकार सम्मान तथा पुरस्कारको नेपाल पत्रकार महासंघ सल्यान शाखाले र विद्यार्थी छात्रवृत्ति वितरणको लागि बागचौर नगरपालिकाले आवश्यक कार्यविधि निर्माण गरेर मात्रै कार्यान्वयनमा जानेछ । द्विपक्षीय सम्झौता पत्रमा संस्थापक नगर प्रमुख श्री लोकमान बुढाथोकी सँगै बागचौर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री रामबहादुर हमाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको तर्फबाट जिल्ला समिति अध्यक्ष श्री नवीन पौडेलले संयुक्त हस्ताक्षर तथा चेक ग्रहण गर्नु भएको छ । कार्यक्रममा बागचौर नगरपालिकाको तर्फबाट संस्थापक नगर प्रमुख र उपप्रमुखलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

शाखागत कर्मचारीहरु